You are here
Home > Front News > समुदाय राम्रो भए अपराधिक क्रियाकलापमा कमी आउनेः आइजिपी खनाल

समुदाय राम्रो भए अपराधिक क्रियाकलापमा कमी आउनेः आइजिपी खनाल

६ असार २०७६, शुक्रबार १५:१२

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय राम्रो भएमा अपराधीक क्रियाकलाप नहुने बताएका छन्। उनले असल नागरिक बन्ने र समुदायले प्रहरीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउने दावी गरे।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभनपछि उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन ।

अनुशासित, मर्यादित र इमान्दार भएर प्रहरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सबैभन्दा ठूलो शक्ति र सत्य आफूले काम गर्ने र आफूमा विश्वास गर्ने हो ।’ व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने टर्नआउट दुरुस्त हुनुपर्नेमा उनले जोड दिए ।

प्रहरी संगठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर संगठनमा प्रहार गर्न सकिन्छ भन्ने सोचाई राखेर रमाउने प्रवृत्ति गलत रहेको उनले चर्चा गरे ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत सबै मिलेर समुदायमा जानुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट साधन स्रोत परिचालन गर्न, हरेक चुनौतिको सामना गर्न सजिलो हुने बताए ।