You are here
Home > राजनीति > एक साताभित्र छानबिन सक्न गृहमन्त्रीलाई संसदीय समितिको निर्देशन

एक साताभित्र छानबिन सक्न गृहमन्त्रीलाई संसदीय समितिको निर्देशन

९ असार २०७६, सोमबार १३:४९

काठमाडौं-संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द नेतृत्वको (नेकपा)का सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक सातभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी छानबिन गरेर समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा समितिका सदस्यले सरकारले मुठभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलकाे हत्या भएको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । समितिका सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले ५–६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैंले गरेको भन्दै आपत्ति जनाए । संवैधानिक बाटोबाटै संविधान उल्लंघन गर्नेलाई कारबाही गनुपर्नेमा सरकार आफैंले गलत बाटो लिएको उनको भनाइ थियो ।