You are here
Home > समाचार > भन्सारका सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

भन्सारका सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

११ असार २०७६, बुधबार १२:२२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारमा बसेर घर नै भरिने गरी भ्रष्टाचार गरेको अभियोगमा एक नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । भन्सारका नायब सुब्बा रामप्रसाद भट्टराईसँग २ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

सरकारी सेवामा प्रवेश गरेपछि भन्सारमा बसेर उनले करोडौंको स्रोत नखुलेको सम्पति जोडेको भेटिएको अख्तियारले जनाएको छ । पछिल्लो समय कञ्चनपुर भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा भट्टराईको २ करोड ८ हजार ५४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अकुत सम्पत्ति जफत गरी सोहीबराबरको जरिमाना र कैद सजाय माग गरी आयोगले मुद्दा दायर गरेको हो । नासु भट्टराईलाई गत वर्ष २९ साउनमा आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । भारत वनबासाबाट व्यापारिक प्रयोजनका मालवस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने भन्दै उनले घुस लिएका थिए । उनीसँग अकुत सम्पत्ति रहेको सूचना पाएपछि आयोगले त्यससम्बन्धी छुट्टै छानबिन गरी मुद्दा दायर गरेको हो । भन्सार कार्यालय कर्मचारीको रोजाइको कार्यालयमा पर्दै आएको छ ।

सरकारी जागिरमा जोडिएपछि उनले १ करोड १४ लाख ९१ हजार १५१ रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । तर, पछिल्लो समय उनीसँग ३ करोड १४ लाख ९९ हजार हजार ६९१ रुपैयाँ सम्पत्ति भेटिएको थियो । २ करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।