You are here
Home > समाचार > एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

१२ असार २०७६, बिहीबार १६:३२

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टा–छुट्टै सार्वजनिक गरेको हो ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यस पटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक–रफरक बनाएर परीक्षा लिइएको थियो ।

नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकै पटक सार्वजनिक गरिएको छ । गत वर्ष असार ९ गते रिजल्ट भएको थियो । यस वर्षको परीक्षामा प्रदेश–२ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

यसरी हेर्नुस् नतिजा
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने छन् ।