You are here
Home > समाचार > आज असार १५ , धान दिवस मनाइँदै

आज असार १५ , धान दिवस मनाइँदै

१५ असार २०७६, आईतवार ०७:३०

काठमाडौं-मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।

किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।

कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ।

दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ।