You are here
Home > राजनीति > प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एकको मृत्यु

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एकको मृत्यु

१५ असार २०७६, आईतवार २०:००

सर्लाही– ईश्वरपुर स्थित बाँके जंगलमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रदर्शनकारीको निधन भएको छ ।दोहोरो झडपमा तीन प्रदर्शनकारी र १३ प्रहरी घाइते भएका छन् ।

झडपमा प्रहरीले चलाएको गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका २७ वर्षीय देवन महतोको घटनास्थलमै ज्यान गएको हो । सर्लाही र महोत्तरी भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको ज्यान गएपछि स्थानीयवासी आक्रोशित भएका थिए । आक्रोशित स्थानीयले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध पारेर दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके चौकमा शव राखेर प्रदर्शन गरेका थिए ।

प्रहरीले राजमार्ग खुलाउन बल प्रयोग गर्दा दोहोरो झडप भएको प्रहरीको भनाइ छ । झडपमा परी टाउकोमा गोली लागेका देवन महतोको घटनास्थलमै ज्यान गएको थियो । घटनामा परी अर्का एक प्रदर्शनकारी पनि घाइते छन् । उनको परिचय खुलेको छैन । प्रदर्शनकारीबाट ढुङ्गा प्रहार हुँदा १३ प्रहरी घाइते भएका छन् ।

घाइते सुरक्षाकर्मीको लालबन्दी र हरिवनका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फबाट १४ शेल अश्रु ग्यास र करिव दुई दर्जन हवाई फायर गरेको जनाएको छ ।