You are here
Home > राजनीति > सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनेलाई कारवाही गर्नुपर्छः गृहमन्त्री

सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउनेलाई कारवाही गर्नुपर्छः गृहमन्त्री

२२ असार २०७६, आईतवार १६:३१

चितवन- गृहमन्त्री रामबहादुर थापाले राज्य पुनर्संरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कार्वाही गर्नुपर्ने बताएका छन् ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रहरी सहायक निरीक्षक आधारभूत तालीम १७५औँ समूहको आज यहाँ दीक्षान्त समारोहमा उनले यस अवस्थामा विभिन्न आपराधिक, विखण्डनकारी तथा वर्तमान राज्य प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहमाथि सूक्ष्म विश्लेषण गरी कारवाही गर्न प्रहरी संयन्त्रले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

दीक्षित भई जाने प्रहरीको काँधमा कानूनी राज्य अनि सामाजिक न्याय सुनिश्चित गर्ने गहन जिम्मेवारी रहेको उनले बताए । गृहमन्त्री थापाले भने, ‘यो जिम्मेवारी वहनका क्रममा हुने सानो भूल वा लापरवाही सिङ्गो प्रहरी सङ्गठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ ।’

कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले २१ महिलासहित ३०५ जना दीक्षित भई कार्यक्षेत्रमा जान लागेको जानकारी दिए । हालसम्म शिक्षालयबाट एक हजार ८२९ प्रहरी सहायक निरीक्षक दीक्षित भइसकेका छन् ।