You are here
Home > राजनीति > राजनीतिक प्रतिवेदनमा सहमति, भोलि नै प्रकाशनमा जान्छ : प्रचण्ड

राजनीतिक प्रतिवेदनमा सहमति, भोलि नै प्रकाशनमा जान्छ : प्रचण्ड

२२ असार २०७६, आईतवार १८:२४

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ ।

प्रधानमन्त्री समेत रहेका ओलीसँग आइतबार बिहान एक वर्ष अघि नै पार्टीका शीर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन भोलि (सोमबार) नै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिएका हुन् ।

उनले सो प्रतिवेदन प्रकाशनमा लैजानेसहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुसी पनि व्यक्त गरे ।

‘प्रधानमन्त्री ओली र मेरो बीचमा एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर पनि प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुङ्ग्याइएको छ,’ अध्यक्ष दाहालको भनाई थियो, ‘भोलि त्यो प्रकाशनमा जाँदैछ, र पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले पूरा गरेका छौं, यसले पार्टीको आधिकारिक लाईनसम्बन्धि अन्यौललाई पनि अन्त्य गरिदिएको छ ।’

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि त्यसले पार्टीको आधिकारिक धारणा सम्बन्धि अन्यौल अन्त्य हुने पनि बताए ।

पार्टी निकट नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र सो महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुङ्गो लगाउने उल्लेख गरिएको दावी पनि गरे ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भिर भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

उनले अहिलेका लागि नेतृत्व चयन अल्पमत र बहुमतको आधारमा नहुने भएकाले सोही अनुसार संगठनहरुको नीति र नेतृत्व चयन गर्नुपर्ने पनि स्पष्ट पारे ।