You are here
Home > अर्थ/बजार > देशको हितलाई ध्यान दिएर विद्युत आयोजना अगाडी बढाइनेः मन्त्री पुन

देशको हितलाई ध्यान दिएर विद्युत आयोजना अगाडी बढाइनेः मन्त्री पुन

२३ असार २०७६, सोमबार १४:४३

काठमाडौं– -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् । 

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “आगामी तीन वर्षभित्रमा सबै नेपालीको घरमा उज्यालो पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ ।” 
    
मन्त्री पुनले अहिले मुलुकमा अघि बढाइएका २२ वटा विद्युतीय आयोजनाबाट आगामी तीन वर्षभित्रमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिँदै देशमा छरिएर रहेका पैसालाई एकीकृत गरेर विद्युतीय आयोजना निर्माण गर्न सकिन्छ भन्ने विषयको त्रिशूली ‘ए’ तेस्रोले पुष्टि गरेको बताए । 
    
साना आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रशारणमा जोड्ने र आयोजनालाई लाभ दिने व्यवस्था गरिएको उल्लेख गर्दै उनले ऊर्जाको माध्यमबाट उद्योग क्षेत्रको विकासका लागि प्रयास भइरहेको बताए । उनले भने, “देशको आर्थिक विकास र समृद्धिका लागि आगामी वर्ष आठ प्रतिशत आर्थिक वृद्धि  हासिल गर्ने लक्ष्य लिइएको छ, जनताको लगानीका आयोजना सुरक्षित भएकाले त्यसमा लगानी गरेर देश विकासको अभियानमा सहभागी हुन म सबैलाई आह्वान गर्दछु ।”

मन्त्री पुनले सुनकोशी–कमला–मरिन डाइभर्सनबाट मध्य तराई क्षेत्रको एक लाख २२ हजार हेक्टर क्षेत्रफमा सिँचाइ पुग्ने अनुमान गरेर आयोजना अघि बढाउने निर्णय भएको जानकारी दिए ।