You are here
Home > समाचार > क्यानडाली डालगिल्स बाल यौन दुराचारी ठहर

क्यानडाली डालगिल्स बाल यौन दुराचारी ठहर

२४ असार २०७६, मंगलवार ०८:२५

काभ्रेपलाञ्चोक-बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतले सोमबार पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ ।

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै पिटरबाट यौनपीडित दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र एक बालकको हकमा नौ वर्ष र अर्का बालकको हकमा सात वर्ष कैद सजाय तोकेको हो ।

१२ वर्षको बालकलाई यौन दुराचार गरेको कसुरमा नौ वर्ष र १४ वर्षको बालकको यौन दुराचार कसुरमा थप सात वर्ष कैद ठहर भएको अदालतका श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।

यसअघि गत जेठ २७ गते काभ्रे अदालतले यौन दुराचारमा अपराधको कसुरदार ठहर गरी थप पुर्पक्षका लागि धुलिखेल कारागार चलान गरिएको थियो । नयाँ संहिताअनुसार पिटरलाई एक चरणमा कसुरदार कायम गरिएको र अर्को चरणमा सजाय तोकिएको हो । त्रितालका अनुसार पिटरलाई सोमबारै धुलिखेल कारागारमा कैदीका रूपमा राखिएको छ ।

पिटर २०७४ साल चैत अन्तिम साता काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१ स्थित एक घरबाट बालयौन दुराचारीको आरोपमा पक्राउ परेका थिए । यो घरबाट उनले १२ र १४ वर्षका दुई बालक बन्धक बनाइरोखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको थियो ।