You are here
Home > समाचार > जंगी अड्डामा प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

जंगी अड्डामा प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

२५ असार २०७६, बुधबार १४:१६

काठमाडौं-सेनाले प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडियू)का लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेटमा विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरेपछि जंगी अड्डाले सम्पर्क कार्यालय स्थापना गरेको हो ।

आर्मी क्लबको सभामण्डपमा एनडियूको सम्पर्क कार्यालय स्थापना गरिएको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । समन्वय कार्यालयले रक्षा मन्त्रालयसहित सरोकारवाला निकायमा समन्वय गर्ने बताउँदै प्रवक्ता पाण्डेले भने, ‘अब विश्वविद्यालयको गठन आदेश, स्वीकृति, ऐन–कानुन, भौतिक संरचना, गुरुयोजनामा काम अघि बढ्छ ।’

सम्पर्क कार्यालय प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रत्यक्षमातहतमा रहनेछ । समन्वय कार्यालयको नेतृत्व सेनाको कमान्ड तथा स्टाफ कलेजका प्रमुख सेनानीलाई दिइएको छ । भौतिक पूर्वाधार, स्वीकृति, गठानादेशलगायतको प्रक्रिया सम्पन्न भएपछि प्राज्ञिक कामका लागि उच्च सैनिक अधिकृतलाई जिम्मा दिने सेनाको तयारी छ । भारत, चीन, अमेरिका, पाकिस्तान, बंगलादेश, श्रीलंकामा यस्ता प्राज्ञिक निकाय स्थापना भएका छन् ।