You are here
Home > समाचार > देशभर वर्षा, बाढी पहिरोबाट सचेत हुन मौसमविद्को आग्रह

देशभर वर्षा, बाढी पहिरोबाट सचेत हुन मौसमविद्को आग्रह

२६ असार २०७६, बिहीबार ०९:१४

काठमाडौं-आज (बिहीबार) विहानैदेखि देशभरजसो वर्षा भइरहेको छ । यो क्रम अझै केहि दिनसम्म रहने मौसमविद्हरुले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले मध्य र पूर्वका केही तथा पश्चिमको धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी समयमा वर्षा गराउने प्रणाली केही दिनदेखि सक्रिय हुँदा देशका धेरैजसो भू–भागमा लगातार पानी परिरहेको छ ।

महाशाखाका मौसमविद् सुवास रिमालले मनसुन सक्रिय भएकाले अबको तीन दिन देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिएका छन् ।

लगातार पानी परेपछि बाढी र पहिरोको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

बिहीबार चुरेबाट बहने खोलामा बाढी आउने भएकाले नदी तटीय क्षेत्र तथा होचो ठाउँमा बस्ने बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । बिहीबार बेलुकीपछि भने पूर्वी क्षेत्रमा कन्काई, कोशी, कमला, बागमती जलाधार क्षेत्रमा पानीको सतहले सतर्कता तह पार गर्ने देखिएको पनि महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले जानकारी दिएका छन् ।