You are here
Home > Front News > लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१२ श्रावण २०७६, आईतवार १७:२६

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गरेका छन् । आजदेखि यहाँ शुरु भएको ‘इण्डिया नेपाल लजिस्टिक समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन’ लगायतका ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको जानकारी दिँदै भने, ‘हामी भारतलगायत संसारभरका लगानीकर्तालाई लगानीका लागि आग्रह गर्दछौँ ।’

सडक सञ्जालको विस्तारमा प्रमुख प्राथमिकता दिइएको, रेलमार्ग, जल यातायातका लागि समेत काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्सार परीक्षणमा समेत थप सहजीकरण गरी विद्युतीय प्रणाली लागू भएको बताए । ‘सरकारले भन्सार प्रणालीलाई थप व्यवस्थित र विद्युतीय बनाएको छ । उद्योगी तथा व्यवसायीलाई पनि सहजरुपमा व्यापार तथा वाणिज्यका लागि मार्गप्रशस्त गरिएको छ’, उनले भने ।

भन्सार प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ वीरगञ्जमा एकीकृत जाँच चौकी सञ्चालनमा आइसकेको, विराटनगरमा केही समयभित्रै उक्त चौकी सञ्चालनमा आउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्सार प्रणालीलाई थप व्यवस्थित र सहज बनाउन आवश्यक पर्ने जति सबै काम गर्न सरकार प्रयासरत रहेको बताए ।

वर्तमान सरकारले सडक सञ्जालका अलावा पानी जहाज कार्यालय नै स्थापना गरिसकेको र रेलमार्ग निर्माण प्रक्रिया समेत अगाडि बढेको, नेपाल–भारत सीमा क्षेत्रमा फराकिला सडक निर्माण भइरहेको समेत जानकारी दिए ।

सन् २०३० सम्म नेपाललाई मध्यस्तरीय आय भएको मुलुकका रुपमा विकास गर्ने गरी सरकारले सोच, नीति तथा कार्यक्रमसमेत अगाडि बढाएको स्पष्ट पार्दै प्रधानमन्त्रीले दिगो विकास लक्ष्यमा समावेश भएका योजनालाई समेत पूरा गर्ने विश्वास दिलाए । आर्थिक वर्ष २०७५–७६ मा नेपालको आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा भएको, सामाजिक सुरक्षालगायतका कार्यक्रमले पनि औद्योगिक वातावरण बनेको र श्रम सम्बन्धका सुधार आएको प्रधानमन्त्रीको भनाइ थियो ।