You are here
Home > राजनीति > विप्लवका रामेछाप इन्चार्जसहित ३ जना प्रहरी पक्राउ

विप्लवका रामेछाप इन्चार्जसहित ३ जना प्रहरी पक्राउ

२० श्रावण २०७६, सोमबार १४:०५

काठमाडौं-नेपाल कम्युनिस्ट पाटी विप्लवका रामेछाप जिल्ला इन्चार्जसहित ३ जना पक्राउ परेका छन् । टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेका यादव ढुङ्गेलसहित तीनजनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो।

काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुङ्गेललाई काभ्रेको भुम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले ढुङ्गेललाई टावर आगजनी कसुरमा आइतबार बेलुका पक्राउ गरेको बताए। ‘आगजनी र विस्फोटमा सहभागिता देखिएकाले नियन्त्रणमा लिएका छौँ’, एसपी सापकोटाले भने।

त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले शुक्रवार राति विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । पनौती नगरपालिका४ बाट विप्लव समूहका जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले पुष्टि गरे । उनीहरूलाई २०७६ वैशाख १ गते विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा विस्फोटक पदार्थ राखेर आँतक सृजना गरेको आरोपमा पक्राउ गरेको उनको भनाइ छ।