
काठमाडौं -जम्मू–काश्मीरमा भारतले सैनिक बढाएको छ । भारतले जम्मू–काश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएको छ । प्रावधान खारेज गरे लगत्त्रै सैनिक बढाएको हाे ।
राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–काश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यस सम्बन्धी सूचना राज्यसभालाई दिएको हो । राज्यसभामा गृहमन्त्री अमित शाहले जम्मू–काश्मीरलाई विधानसभासहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको जानकारी गराए । पहिला अस्थायी व्यवस्थाका रूपमा कार्यान्वयन गरिएको धारा ३७० खारेज सम्बन्धमा भारतीय संविधान स्पष्ट छैन ।
संसद्को दुवै सदनले दुईतिहाइ बहुमतले संविधान संशोधन पारित गर्नुपर्ने व्यवस्था भए पनि धारा ३७० (३) मा राष्ट्रपतिको आदेशलाई जम्मू–काश्मीरको संविधानसभाले पारित गर्नुपर्ने उल्लेख छ । अहिले काश्मीरमा हजारौँ सैनिक परिचालन गरिएको छ ।एजेन्सी