You are here
Home > समाचार > पर्खाल निर्माणको विषयमा विवाद हुँदा गोली चल्यो

पर्खाल निर्माणको विषयमा विवाद हुँदा गोली चल्यो

२१ श्रावण २०७६, मंगलवार १८:४०

वीरगञ्ज-वीरगञ्जमा दिनदहाडै गोली चलेको छ । पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगञ्जमा गोली चलेको हो।

वीरगञ्ज महानगरपालिका– १८ भवानीपुरमा बाटो छेउको पर्खालको बिषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ ।

पटेल र साहबीच झगडा भइरहेका बेला साहका छोराले घरमा राखेको बन्दुक निकालेर गोली चलाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट फायर भएको एक राउण्ड कार्टिज फेला पारेको प्रहरीले जनाएको छ ।

मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक त्यसमा लाग्ने चार राउण्ड लाइभ कार्टिज बरामद गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।