You are here
Home > समाचार > गर्भवती बुहारीको हत्या आरोपमा सासु-ससुरा पक्राउ

गर्भवती बुहारीको हत्या आरोपमा सासु-ससुरा पक्राउ

२२ श्रावण २०७६, बुधबार ०७:५०

सप्तरी- सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । मृतकका सासु ससुरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।