You are here
Home > राजनीति > कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने

कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने

२२ श्रावण २०७६, बुधबार १३:४७

काठमाडौं निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने कानूनी व्यवस्था हुने भएको छ ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा कर्मचारीले सामूहिक राजीनामा दिनुको औचित्य पुष्टि भए सरकारले स्वीकृत गर्ने सहमति भएको हो।

चिकित्सकले समेत सामूहिक राजीनामा दिने धम्कीसहित आफ्ना सेवा ठप्प पार्ने काम गर्दै आएका थिए । बुधबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विगतका ती घटनालाई पनि ध्यानमा राखेर विधेयकमा समावेश गरिएको निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान पारित गरिएको हो ।

विधेयकको दफा १२१ मा निजामती कर्मचारीले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्ने प्रावधान राखिएको थियो । त्यसमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदबीच मत बाझिएको थियो ।

त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सोही मन्त्रालयका सचिव यादव कोइरालाको पनि मत विभाजित भएको थियो । तर, मन्त्री पण्डितले विगतमा सरकारलाई घेराबन्दीमा पार्ने नियतसाथ त्यस्ता गतिविधि हुने भएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले सो प्रावधान ल्याउनुपरेको स्पष्टीकरण दिए ।

चिकित्सकले सामूहिक राजीनामाको धम्की दिएर सरकारलाई अनावश्यक दबाब दिने काम गरेपछि सरकार नियन्त्रणका लागि कानूनी व्यवस्था गर्न बाध्य भएको हो ।

त्यसैगरी, सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा, खगराज अधिकारी र झपटबहादुर रावलले पनि राज्य संयन्त्र सञ्चालन गर्नेको अराजकता र अनुशासनहीनताको अन्त्य गर्न पनि सो प्रावधान राख्न उपयुक्त हुने तर्क गरे ।

पूर्वस्वास्थ्यमन्त्री तथा नेकपाका सांसद अधिकारीले चिकित्सकले समेत आफ्ना अनुचित माग पूरा गराउन सामूहिक राजीनामा दिने धम्कीसहित अस्पतालको सेवा ठप्प पार्ने विगतका ती घटनालाई नियन्त्रण गर्न सो प्रावधान आवश्यक रहेको तर्क गरे ।

नेकपाकै अर्का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले विभिन्न कारणले कर्मचारीले सामूहिक राजीनामा दिएमा औचित्य पुष्टि भए सरकारले राजीनामा स्वीकृत गर्ने प्रावधान सही भएको बताए ।