You are here
Home > समाचार > एक करोड धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे डेजाभू लाउन्जका सञ्चालक श्रेष्ठ

एक करोड धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे डेजाभू लाउन्जका सञ्चालक श्रेष्ठ

२३ श्रावण २०७६, बिहीबार १८:१८

काठमाडौं-काठमाडौंको दरबारमार्गस्थित डेजाभू लाउन्जका सञ्चालक मनोज श्रेष्ठ बैंकिङ कसूर तथा ठगीमा एक करोड धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परेका छन्।

साढे ३ करोड रुपैयाँ ठगीको आरोपमा उनी फेरि पक्राउ परेका महानगरीय प्रहरी परिसरले जनाएको छ।

ड्रागन एयरको जहाजमा हङकङबाट काठमाडौं उत्रिएका ३७ वर्षीय श्रेष्ठलाई साउन १२ गते राति अध्यागमन विभागले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो।

परिसरका अनुसार दुई करोडको चेक बाउन्स मुद्दा र तीन करोड पचास लाख ठगी मुद्दामा श्रेष्ठ प्रहरीको खोजीमा थिए।

श्रेष्ठले डेजाभूको अध्यक्ष हुँदा कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट दुई करोड ऋण लिएका थिए । विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले दुई करोडको चेक दिए पनि बैंकमा रकम नभएपछि बैंकले चेक बाउन्स गरिदिएको थियो। त्यसपछि फरार भएका श्रेष्ठ हङकङ बस्दै आएका थिए।

श्रेष्ठलाई महानगरीय प्रहरी परिसरको अनुरोधमा नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ (एक–अर्कामा सूचना आदान-प्रदान गर्ने) जारी गरेको थियो। प्रहरीको सर्वाधिक खोजीमा रहेका उनलाई हङकङ प्रहरीले दिएको सूचनाको आधारमा अध्यागमनले समातेर महानगरीय प्रहरी परिसरलाई जिम्मा लगाएको थियो।