You are here
Home > अर्थ/बजार > सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति ४४ अर्ब

२४ श्रावण २०७६, शुक्रबार १८:२८

काठमाडौँ-नेपाली सेनाको सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्व ५७ करोड ६० लाख पुगेको छ । कोषले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्व ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्व ८० करोड ३६ लाख वृद्धि भएको जानकारी दिएको हो ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको रु पाँच अर्व ६४ करोड ३० लाख ४० हजार लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति रु ४४ अर्व २१ करोड ९० लाख ४० हजार पुगेको कोषका निर्देशक सागर केसीले जानकारी दिए ।

कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर रु पाँच करोडबाट रू  दुई लाख ६६ हजारमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोडको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको रु ५० करोड २३ लाख ८६ हजार बेरुजु रहेकामा अघिल्लो वर्ष नै रू ३० करोड ४० लाख ७३ हजार फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ ।

कोषको मुख्य आयस्रोतका रूपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैङ्क तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेको सेनाले निर्देशक केसीले बताए ।

उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दा बढी क वर्गका बैङ्क तथा वित्तीय संस्थामा निक्षेप रहेको जानकारी दिइयो ।

त्यस्तै सेनाले ७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कूलहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भईसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी  दिए ।