You are here
Home > समाचार > विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना

विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना

२६ श्रावण २०७६, आईतवार ०८:२१

काठमाडौं-  नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पु¥याउन तयारी थालेको हो ।

हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टमार्फत वार्षिक ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । अघिल्लो वर्षसम्मको यसै अवधिसम्म भने सो प्लान्टबाट वार्षिक १ हजार २ सय मेट्रिक टन मात्रै विस्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । सेनाले एक वर्षभित्रै १ हजार २ सयबाट २ हजार ४ सय मेट्रिक टन हुँदै उत्पादन क्षमता ३ हजार ६ सय मेट्रिक टन पु¥याएको थियो ।

विकास निर्माणका काममा सेना आफैं संलग्न हुन थालेपछि र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत माग बढ्न थालेपछि सेनाले विस्फोटक पदार्थको उत्पादन बढाएर उत्पादनलाई व्यावसायिक बनाउने तयारी अघि बढाएको हो । 

हाल सेनाले नेपाली सेनाको कल्याणकारी कोषमार्फत विस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्टमा ३० करोड रुपैयाँ लगानी गरिरहेको छ । सेनाले थप २ करोड लगानी बढाएर उत्पादनलाई दुई सिफ्टमार्फत दोब्बर बनाउने लक्ष्य लिएको हो ।

नेपाली सेनाको कल्याणकारी कोषका निर्देशक एवं सहायक रथी सागरबहादुर केसीले सेनाले विस्फोटक पदार्थको उत्पादन क्षमतालाई दोब्बर बनाउन थप २ करोड लगानी गर्ने तयारी गरेको बताए । एक सिफ्टमा मात्रै उत्पादन भइरहेको विस्फोटक पदार्थलाई दुई सिफ्टमार्फत उत्पादन गरेर विस्फोटक पदार्थको आयातसमेत रोक्न सकिने उनले जानकारी दिए ।

‘हाल ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइरहेको छ । अब छिट्टै उत्पादनलाई दोब्बर बनाएर विस्फोटक पदार्थको उत्पादनमा आत्मनिर्भर हुने र विदेशबाट हुने आयातको खर्चसमेत जोगाउने लक्ष्य छ,’ कोषका निर्देशक एवं सहायक रथी केसीले राजधानीसँग भने ।

सेनाले सुनाचुरी प्लान्टबाट आर्थिक वर्ष २०७५\७६ मा ८८ हजार ८ सय २३ किलो विस्फोटक पदार्थ उत्पादन गरेकोमा ७६ हजार ९ सय २३ किलो बिक्री गरेको थियो ।
हाल सेनाले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ (इमल्सन प्लान्ट) हाइड्रोपावरको टर्नेल निर्माण, सडकको टर्नेल निर्माणसहित पहाडी क्षेत्रका सडकको ट्र्याक खोल्न प्रयोग हुँदै आएको छ । त्यस्ता सडकमा सेनाले यही विस्फोटक पदार्थमार्फत ढुंगा फोर्ने काम गरिरहेको छ ।

हाल अरुण तेस्रो जलविद्युत् आयोजनासहितका विभिन्न आयोजनामा सेनाले विस्फोटक पदार्थ पठाउँदै आएको छ । यस्तै, कर्णाली कोरिडोर, मेलम्ची, काठमाडौं–तराई मधेस द्रुतमार्गमा समेत इमल्सन प्लान्टको प्रयोग हुँदै आएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा समेत सेनाले नै उत्पादन गरेको विस्फोटक पदार्थको प्रयोग गरिएको थियो ।

निजी क्षेत्रले विस्फोटक पदार्थ खरिद गर्दा विभिन्न प्रक्रिया पूरा गरेपछि मात्रै सेनाले दिने गरेको छ । त्यसरी दिँदा सम्बन्धित जिल्लामा बनेको कमिटीबाट स्वीकृति लिएर गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेनाको जंगी अड्डा हुँदै प्लान्टसम्ममा स्वीकृति पाएपछि मात्रै ती पदार्थ पठाइने गरिएको सेनाले जनाएको हो । सेनाले २०५९ सालमा प्लान्टको स्थापना गरेको थियो भने २०६० सालदेखि उत्पादन सुरु गरेको थियो ।राजधानी दैनिक