You are here
Home > समाचार > फाष्ट ट्रयाकमा दबाब झेल्दै सेन, दुई वर्ष डीपीआरमै बित्यो

फाष्ट ट्रयाकमा दबाब झेल्दै सेन, दुई वर्ष डीपीआरमै बित्यो

२८ श्रावण २०७६, मंगलवार ०७:४८

काठमाडौं -काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेना मन्त्रिपरिषदमा पुगेको डीपीआर स्वीकृत नहुँदा दबाबमा परेको छ ।

सेनाले २७ साउन २०७४ मा २०७८ साउनभित्र सम्पन्न गरिसक्ने गरी सो सडक निर्माणको जिम्मेवारी पाएको थियो । तर, निर्माणको जिम्मेवारी पाएको दुई वर्ष बित्दासमेत सेनाले निर्माण अघि बढाउन आवश्यक पर्ने डीपीआरको अन्तिम निर्णय प्राप्त गर्न सकेको छैन ।

डीपीआर नहुँदा सेनाले सो सडकखण्डमा पुल निर्माणसहितका ठूला कामका लागि प्रक्रिया अघि बढाउन सकेको छैन ।

सेनाले गत ५ चैतमा द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा रक्षा मन्त्रालयमा बुझाएको थियो भने रक्षा मन्त्रालयमार्फत गत १२ चैतमा मन्त्रिपरिषदमा पुगेको थियो ।

मन्त्रिपरिषदमा पुगेको पाँच महिना बित्दा समेत डीपीआरबारे सेनाले सरकारको निर्णय पाएको छैन ।

डीपीआर स्वीकृत नहुँदा पुल, पर्खाल र सुरुङ निर्माणलगायतका ठूला काम अघि बढ्न नसकेको हो । यस्तै, अन्य कामलाई समेत सहज बनाउन सेनाले द्रुतमार्गका सात स्थानमा बेलिब्रिज बनाएर काम अघि बढाउन तयारी थालेको छ । राजधानी दैनिक