You are here
Home > समाचार > इतिहासविद् दासको निधन

इतिहासविद् दासको निधन

२८ श्रावण २०७६, मंगलवार ०८:२२

सप्तरी-इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको छ। महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको निधन भएको उहाँका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आएका दास विगत केही वर्षदेखि मुटु तथा मधुमेहलगायतका रोगबाट ग्रसित थिए। श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा विसं २०७४ वैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानले सम्मानित दासलाई संस्कृति क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत २०७४ पुस ११ गते १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा मिथिला रत्न उपाधिबाट सम्मानित गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट विसं २०४८ मा सम्मानित दास युनिभर्सल पिस फेडरेशनबाट सन् २०१५ मा शान्तिदूत र मैथिली साहित्य परिषद्बाट विसं २०६९ मा शिवदत्त स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए।