You are here
Home > राजनीति > प्रकाशका नाममा विदेशी बैंकमा रकम भए प्रमाणित गर्न प्रचण्डको चुनौती

प्रकाशका नाममा विदेशी बैंकमा रकम भए प्रमाणित गर्न प्रचण्डको चुनौती

२८ श्रावण २०७६, मंगलवार १३:५७

काठमाडौं – पछिल्ला केही दिनहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको आरोप लाग्दै आइरहेको छ ।

अहिले अध्यक्ष प्रचण्डको सचिवालयले यो प्रचार गलत भएको भन्दै प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको छ । अध्यक्ष प्रचण्डको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको कुराको प्रमाण ल्याउन चुनौती दिएको हो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ ।

परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ । यसप्रकारका झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ ।’