You are here
Home > अर्थ/बजार > विद्युत् प्राधिकरणको नाफा ७ अर्ब २० करोड

विद्युत् प्राधिकरणको नाफा ७ अर्ब २० करोड

२८ श्रावण २०७६, मंगलवार १७:००

काठमाडौं -लामो समय घाटामा गएको नेपाल विद्युत् प्राधिकरणले केही वर्षयता निरन्तर नाफा कमाउन थालेको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ।  ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर प्राधिरकणले कमाएको नाफाबारेमा जानकारी दिएका हुन्।

कुलमान घिसिङले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेयता प्राधिकरणले लोडसेटिङ हटाएको छ। चुहावट नियन्त्रण गरेपछि तीन वर्षयता प्राधिकरणले लगातार नाफा कमाउन थालेको हो।  प्राधिकरणले २०७४/७५ मा साढे २ अर्ब ९० करोड नाफा कमाएको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो ।  प्राधिकरणले सावाँ, व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ ।

प्राधिकरणले विद्युत् चुहावटलाई पनि उल्लेख्यरुपमा घटाएको छ। अघिल्लो वर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ ।