You are here
Home > अर्थ/बजार > उमेर हद तोक्ने राष्ट्र बैंकको निर्देशन संविधानको मौलिक हक विरुद्धः सर्वाेच्च

उमेर हद तोक्ने राष्ट्र बैंकको निर्देशन संविधानको मौलिक हक विरुद्धः सर्वाेच्च

२८ श्रावण २०७६, मंगलवार १९:४८

काठमाडौं-सर्वाेच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोक्ने राष्ट्र बैंकको निर्देशन संविधानको मौलिक हकको व्यवस्था विरुद्ध भएको ठहर गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को उमेर हद तोक्ने कार्य संविधानको व्यवस्था अनुसार पेश व्यवसाय गर्ने व्यक्तिको मौलिक विपरित भएको भन्दै कार्यान्वयन नगर्न नगराउन पनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकले २० साउनमा एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थाका सिइओको उमेर हद ६५ वर्ष तोकेको थियो । यस्तै पदमा वहाल व्यक्तिले पनि ६९ वर्षसम्म मात्रै बैंकको सिइओ हुन पाउने व्यवस्था गरिएको थियो ।

राष्ट्र बैंकको सो निर्देशनपछि प्राइम बैंकका सिइओ नारायणदास मानन्धरले काम गर्न पाएका थिएनन् । राष्ट्र बैंकको सो निर्देशनपछि सिइओ मानन्धर सर्वाेच्च गएका थिए । मानन्धरको निवेदनको सुनुवाई गर्दै सर्वाेच्च अदालतका प्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणाको इजलासले उमेर हद तोक्न नपाउने आशयको अन्तरिम आदेश दिएको हो ।