You are here
Home > राजनीति > दुई अध्यक्षबीच सहमति नहुँदा नेकपा सचिवालय बैठक सर्यो

दुई अध्यक्षबीच सहमति नहुँदा नेकपा सचिवालय बैठक सर्यो

२९ श्रावण २०७६, बुधबार १७:०३

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि पनि सरेको छ । पार्टी एकतालाई पुर्णता दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले लगातार गर्नुभएको परामर्श र गृहकार्य निश्कर्षमा पुग्न नसकेपछि आज अपरान्ह ३ बजेका लागि बोलाइएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।

नेकपाले हिजो बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै आज दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर आजको सचिवालय बैठक पनि तयारी नपुगेको भन्दै स्थगित भएपछि अब भोलिका लागि सरेको हो ।

बैठक स्थगित गर्नुअघि अध्यक्ष ओली र प्रचण्डबीच छलफल भने भएको बताइएको छ । दुवै अध्यक्षलाई महासचिव बिष्णु पौडेलले गत सचिवालय बैठकको निर्णयअनुसार नेताहरुको रुची बुझेर आफ्नो प्रतिवेदन दिइसक्नु भएको छ ।

अध्यक्ष ओली र प्रचण्डले सोही रुचीअनुसारको प्रतिवेदनमा आधारित भएर सचिवालयमा निर्णायक प्रस्ताव लैजाने अन्तिम तयारी अघि बढाउनु भएको हो । गत साउन १३ गतेपछि नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । सोही बैठकले साउन २८ गते बैठक बस्न निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरी सिंगापुरबाट फर्किन दुई दिन ढिलाइ हुँदा २८ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।