You are here
Home > समाचार > ११ वटा वडा कार्यालयमा चोरी गर्ने अभियुक्त सार्वजनिक

११ वटा वडा कार्यालयमा चोरी गर्ने अभियुक्त सार्वजनिक

२९ श्रावण २०७६, बुधबार १७:०९

पोखरा-पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालयमा चोरी गर्ने अभियुक्तलाई कास्की प्रहरीले १४ महिनापछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १० घर भएका ५१ वर्षे किशोर थापाले नै पोखरा महानगरका ११ ओटा कार्यालयमा पालैपालो चोरी गरेको प्रमाणसहित कास्की प्रहरीले आज अभियुक्त सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार थापाले पहिलो पटक २०७५ जेठ ३ गते पोखरा महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा चोरी गरेका थिए । त्यसपछि लगातार अन्य वडामा उनले चोरी धन्दा अघि बढाए । पछिल्लो पटक उनले गत साउन २१ गते ६ नम्बर वडा कार्यालय चोरी गरेका थिए ।

लगातार चोरी भएपनि अभियुक्त पक्राउ नपरेपछि स्थानीयबासीसमेत आक्रोशित हुन थालेका थिए । कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले यो घटनालाई गम्भीरतापुर्वक लिई अनुसन्धान अघि बढाएको परिणाम थापा पक्राउ परेका हुन ।

प्रहरी उपरीक्षक (एसपी)कार्कीका अनुसार सीसीटीभी भिडियोमा देखिएका थापालाई उनको जिउडाल हेरी राष्ट्र बैंक चोक पोखराबाटै सोमवार पक्राउ गरिएको हो । थापा पोखरा ९ मा डेरा लिएर बस्दै आएका थिए ।

उनको अर्को डेरा पोखरा १० मा पनि रहेको प्रहरीले जनाएको छ । वडा नम्बर ५, १३, १४, १९, १५, १६, २५, २९ र ३१ का कार्यालयहरूमा पनि थापाले ल्यापटप लगायत सामान चोरेका थिए । एसपी कार्कीका अनुसार थापाले चोरी स्वीकारिसकेका छन । थापाको डेराबाट प्रहरीले चोरी गर्न प्रयोग हुने सामानहरू पनि बदामद गरेको छ ।