You are here
Home > समाचार > सशस्त्र प्रहरीद्वारा ३३ किलोग्राम अवैध चाँदी बरामद

सशस्त्र प्रहरीद्वारा ३३ किलोग्राम अवैध चाँदी बरामद

३२ श्रावण २०७६, शनिबार २०:४७

जनकपुरधाम- सशस्त्र प्रहरी बल धनुषाले ८ महिनाभित्रमा करिब ३३ किलोग्राम अवैध चाँदी बरामद गरेको छ । 

भारतबाट अवैध रुपमा चाँदी ल्याउँदै गर्दा सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत जयनगर भेलवा चोक बस्ने २७ वर्षीय बन्धु कुमार सिंहलाई शनिबार पक्राउ गरेको छ । 

उनलाई गस्ती टोलीले औरही गाउपालिका वडा नम्बर २ देउरीबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

अवैध रुपमा ल्याइएको (१५ केजी चाँदी) १० लाख ९३ हजार १ सय १० मूल्य बराबरको रहेको उप्रेतीले बताए । यसका साथै पक्राउ परेका सिंहको साथबाट ज८प ९२३५ नम्बरको डिस्कोभर मोटरसाइकल समेत बरामद भएको छ । 

यसअघि सशस्त्र प्रहरी धनुषाले जेठ २४ गते जनकपुरधाम वडा नम्बर २३ बिन्धीबाट १२.७ किलोग्राम र २०७५ साल मंसिर ५ गते जनकपुरधाम वडा नम्ब २५ लोहनाबाट ५ किलोग्राम चाँदी अवैध रुपमा लैजाँदै गर्दा नियन्त्रणमा लिएको थियो ।