You are here
Home > समाचार > काठमाडौं प्रहरी प्रमुख सुवेदीलाई गाली गरेको आरोपमा अछामबाट एक जना पक्राउ

काठमाडौं प्रहरी प्रमुख सुवेदीलाई गाली गरेको आरोपमा अछामबाट एक जना पक्राउ

१ भाद्र २०७६, आईतवार १७:२६

काठमाडौं-न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको विषयलाई जोडेर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई गाली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा रिदम विसी भनिने शंकर विक पक्राउ परेका हुन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।

काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय अछामलाई पत्राचार गरिएको जानकारी दिएका छन् । उनले भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्‍याई सकिएको छैन ।’

अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौं प्रहरी परिसर टेकु र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले ३० साउनमा लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।