You are here
Home > समाचार > धुन्चे–स्याफ्रुबेशी सडकखण्ड मर्मतका लागि सुरक्षाकर्मी परिचालन

धुन्चे–स्याफ्रुबेशी सडकखण्ड मर्मतका लागि सुरक्षाकर्मी परिचालन

२ भाद्र २०७६, सोमबार ०९:१०

रसुवा-पासाङल्हामु मार्गको धुन्चे–स्याफ्रुबेशी सडकखण्डमा जीर्ण सडक मर्मत सुरु गरिएको छ। जीर्ण सडकमा जोखिम मोलेरै सवारीसाधन सञ्चालन भइरहेको र सवारी सञ्चालनमा कठिनाई भएको चौतर्फी गुनासो बढेपछि सडक मर्मत सुरु गरिएको हो।

आइतबार धुन्चे–स्याफ्रुबेशी सडकखण्डको खोपाङ भीरमा सोयलिङका लागि सशस्त्र प्रहरी र सडकका कर्मचारी खटिएका छन्। नौ जना सशस्त्र प्रहरी र पाँच जना सडक डिभिजन कार्यालयका कर्मचारी परिचालन गरी सोयलिङ गर्ने काम सुरु गरिएको छ।

त्यसका लागि गोसाइकुण्ड गाउँपालिकाले एउटा ट्रक उपलब्ध गराएको छ। स्याउबारीदेखि स्याफ्रुसम्मको सडकखण्डमा दर्जनौं ठाउँमा खाल्टाखुल्टी परेको छ। आइतबार खोपाङ भीरको उकालोमा १५ मिटर रक सोयलिङ गरिएको छ।

त्यस्तै, सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक डिभिजनका कर्मचारीसहित करिब ३० जना खटाई सडक मर्मत गरिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। गत साउन २१ देखि जीर्ण तथा खाल्टाखुल्टी सडक मर्मत सुरु गरिएको भने पनि हालसम्म सुरु हुन सकेको थिएन। विगतका वर्षहरुमा पनि सेना प्रहरी परिचालन गरेर असहज भएको सडक मर्मत गरिँदै आइएको थियो।