You are here
Home > समाचार > ‘क्लिनफिड’ तत्काल लागू गर्ने गरी विज्ञापन विधेयक पारित

‘क्लिनफिड’ तत्काल लागू गर्ने गरी विज्ञापन विधेयक पारित

४ भाद्र २०७६, बुधबार १६:३६

काठमाडौं– संसदको विकास तथा प्रविधि समितिले तत्कालै क्लिनफिड लागू गर्ने व्यवस्थासहित आज (बुधबार) विज्ञापन विधेयक पारित गरेको छ ।

अब यो विधेयक आएसँगै विदेशी च्यानलहरुले आफ्ना कार्यक्रम नेपालमा विज्ञापनरहित रुपमा प्रशारण गर्नुपर्नेछ । यसअघि राष्ट्रियसभाबाट विज्ञापनसम्बन्धी विधेयक पारित हुँदा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था गरेको थियो ।

तर, प्रतिनिधिसभाको विकास समितिले त्यसलाई संशोधन गर्दै क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर बुधबार उक्त विधेयक पारित गरेको हो । तर, ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय उपलब्ध गराइएको छ । ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिङ्ग गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसपछि अब विदेशी च्यानलले नेपालमा बिज्ञापनरहित सामाग्री प्रशारण गर्नुपर्नेछ । विज्ञापन गर्नैपर्ने भए नेपालमार्फत विज्ञापन दिनुपर्नेछ । यो ब्यवस्था लागू नगर्न सरकारलाई ठूलो दवाव आएको थियो । विदेशी दवावका बावजुद यो विधेयक पारित भएको छ । यसले नेपालमा अर्बौ विज्ञापनको रकम भित्रिने तथा नेपालमा रोजगारी सिर्जना हुने अपेक्षा राखिएको छ ।