You are here
Home > समाचार > उत्तरका चार जिल्लामा सशस्त्रले बि.ओ.पी स्थापना गर्ने

उत्तरका चार जिल्लामा सशस्त्रले बि.ओ.पी स्थापना गर्ने

४ भाद्र २०७६, बुधबार १७:१०

काठमाडौ- सशस्त्र प्रहरीले चालु आर्थिक वर्षमा सीमा सुरक्षाका लागि उत्तरका चार जिल्लामा ४ वटा बि.ओ.पी स्थापना गर्ने भएको छ। सशस्त्र प्रहरीले गरेका गतिविधी र अन्य कार्यक्रमको बारेमा जानकारी दिने उदेश्यले आज सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो।

पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता सुरजकुमार श्रेष्ठले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधी र सीमा सुरक्षाका लागि उत्तरका चार जिल्ला दार्चुला, हुम्ला, मुस्ताङ्ग र संखुवासभामा स्थापना गर्ने लक्ष्य लिएको बताए।

उनले बिओपीका लागि ती जिल्लामा काम समेत सुरु भईसकेको बताए। सशस्त्रले आफ्नो कार्यक्षेत्र ७७ जिल्लामा विस्तार गरेको छ,प्रवक्ता श्रेष्ठले भने, ‘केन्द्रीय सरकारको मातहतमा रहेर सेवा र सुरक्षा दिन जनतासम्म संयन्त्र निर्माण गरेका छौं।’ उनले काठमाडौं उपत्यकामा रहेको एपीएफ स्कुललाई आगामी दिनमा प्रत्येक प्रदेशमा क्षेत्रीय रुपमा विस्तार गरिने समेत जानकारी दिए। सशस्त्रले प्रदेश नम्बर २ अन्तर्गत सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकामा क्षेत्रीय स्कुलका लागि निर्माण प्रक्रिया अगाडी बढाएको छ।

उनले सहयोग र आपद् विपद्मा उद्धार कार्यमा गरिएका कार्यहरु, अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्धार कार्य, सशस्त्र प्रहरी कार्यसम्पादनमा जनशक्तिको परिचालन लगायत विविध विषयहरुमा जानकारी गराएका थिए।

हालका दिनहरुमा एपीएफ टोली लङगरेञ्ज पट्रोल (एलआरपी), फोर्समार्च, सर्टरेञ्ज पट्रोल (एसआरपी) को रुपमा परिचालित भईरहेको तथा सीमा सुरक्षामा Check Point, Cross Patroling, Parallel Patroling को रुपमा दैनिक परिचालित भई सीमा सुरक्षामा जोड दिदै आईरहेको छ ।

देशभर दैनिक रुपमा करीव ८५ वटा छुट्टाछुट्टै एपीएफ टोली इमिडियट रेस्पोन्स टीम (आई.आर.टी.) को रुपमा खटिरहेको छ। यी टोलीहरु चौविसै घण्टा हाइवेमा तैनाथ रहन्छन् । जसले कुनैपनि वेला यथासिघ्र सेवा, सुरक्षा तथा सहयोग र आपत विपदमा सहयोग हुने व्यवस्था मिलाईएको छ ।

७४१ जनालाई विभागीय कारवाही
सशस्त्र प्रहरी संगठन भित्र नीति विपरित कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले गलत गतिविधि गरेको पाइएमा कारवाही गर्ने गरिएको छ।सोही क्रममा प्रधान कार्यालयले २०७५ साउनदेखि २०७६ साउन महिनासम्म ७ सय ४१ जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागिय कारवाही गरेको छ।