You are here
Home > समाचार > मन्त्रिपरिषदबाट द्रुतमार्गको डीपीआर स्वीकृत, निर्माणको बाटो खुलेको सेनाद्धारा जानकारी

मन्त्रिपरिषदबाट द्रुतमार्गको डीपीआर स्वीकृत, निर्माणको बाटो खुलेको सेनाद्धारा जानकारी

५ भाद्र २०७६, बिहीबार १३:३९

काठमाडौं-काठमाडौं–तराईरमधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।

डीपीआर स्वीकृत भएसँगै अब द्रुतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो दु्रतमार्गको डीपीआर भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी नेपाली सेनालाई प्राप्त भएको उनले स्पष्ट पारे । कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत भएको हो ।

कम्पनीले गत वर्ष माघ २० गते डीपीआरको अन्तिम प्रतिवेदन नेपाली सेनालाई बुझाएको थियो । सेनाले अन्तिम स्वीकृतिका लागि चैत ५ गते रक्षा मन्त्राललाई बुझाएको थियो । पेस गरिएको पाँच महिनापछि सरकारले डीपीआर स्वीकृत गरेको हो ।

डीपीआर समयमा स्वीकृत नहुँदा गत आर्थिक वर्षमा विनियोजन गरिएको १५ अर्बमध्ये नौ अर्ब रुपियाँ सेनाले सरकारलाई फिर्ता गरेको थियो ।

स्वीकृत डीपीआरअनुसार सडक निर्माणको लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्नेछ । नयाँ डीपीआरअनुसार द्रुतमार्गको लम्बाइ घटेको छ । पहिलेको डीपीआरमा लम्बाइ ७६ दशमलव दुई किलोमिटर थियो भने अब ७२ दशमलव पाँच किलोमिटर हुनेछ ।