You are here
Home > समाचार > चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डिएसपीसहित सात जना प्रहरी घाइते

चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डिएसपीसहित सात जना प्रहरी घाइते

८ भाद्र २०७६, आईतवार २०:१५

चितवन- चितवनको भरतपुरमा आइतबार साँझ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरी नायब उपरीक्षक (डिएसपी) एक नारायण कोइरालासहित सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। केही प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ।

आइतबार साँझपख चौबिसकोठी क्षेत्रमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडप भएको कोइरालाले बताए। झडपका क्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्याससमेत प्रहार गरेको थियो। झडप भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै केही गाडीमा तोडफोड पनि गरेका छन्।

दिनभर शान्त रहेको भरतपुर साँझ परेसँग झडपमा परिणत भएको हो। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुछिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पुनः हिरासत फर्काएपछि प्रदर्शनकारी आक्रोशित बनेका हुन्।

जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार आइतबार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की बयान सकिएको र बाँकी रहेका रवि र युवराज बयान भोलि बिहान १० बजेपछि लिइनेछ।