You are here
Home > Front News > सशस्त्रका आइजीपी समक्ष एआइजी र डिआइजीबीच कार्य सम्पादन सम्झौता

सशस्त्रका आइजीपी समक्ष एआइजी र डिआइजीबीच कार्य सम्पादन सम्झौता

११ भाद्र २०७६, बुधबार ०८:२०

काठमाडौंं-सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनाल समक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ( एआइजी) तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विच बार्षिक कार्यसम्पादन सम्झौता भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो ।

आइजीपी खनाल समक्ष उक्त विशेष समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक त्रय पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल लगायत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बाबुराम पाण्डे, चिरञ्जीवी अधिकारी, नगेन्द्र थापा, प्रजाभक्त श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्रीले कार्यसम्पादन सम्झौता गरेका थिए।

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारीप्रति अझै बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा पारदर्शी एवं नतिजामा उत्तरदायी बनाउन तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो ।

आइजीपी शैलेन्द्र खनालले सोही अवसरमा जिम्मेवारीका लक्ष्य पुरा गर्न कार्यसम्पादन सम्झौताले मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए।

उनले संगठनका उच्च अधिकृतहरु भीजन बनाएर अगाडी बढ्न यस सम्झौताले सघाउ पुग्ने बताए।
नीतिगत तहमा निर्णय गरिएको कुरा कार्यक्षेत्रमा तपाईहरु मार्फत कार्यान्वयन हुन्छ भन्नुहुँदै आइजीपी खनालले आफुले गर्छु भनेको कुरा पूरा गर्न सधै कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गरे।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको म्याण्डेट भित्र रहेर सांगठानिक भीजन बनाउनु पर्ने र त्यसै अनुरुप लक्ष्य प्राप्तीमा अगाडी बढ्नु पर्ने आवश्यकता औल्याउनुहुँदै रणनीतिक योजना बनाएर अगाडी बढ्नुपर्ने तथा शान्ति सुरक्षा, सुशासन तथा सेवा सुरक्षा सहयोग र उद्धार कार्यतर्फ आफ्नो ध्यान केन्द्रीत गर्दै दायित्व निर्वाहका क्षेत्रहरुमा अगाडी बढिरहनुपर्ने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।