You are here
Home > समाचार > एक महिनाको अवधीमा २७ जना प्रहरी कर्मचारी कारवाहीमा

एक महिनाको अवधीमा २७ जना प्रहरी कर्मचारी कारवाहीमा

११ भाद्र २०७६, बुधबार १८:१३

काठमाडौं-प्रदेश नम्बर २ अन्तर्गत नेपाल प्रहरीले आन्तरिक शुद्धीकरणलाई प्राथमिकता दिएपछि साउन महिनामा मात्रै नेपाल प्रहरीका २७ जना कर्मचारी कारवाहीमा परेका छन्।

उनीहरुले प्रहरी संगठन विपरित काम गरेकाले कारवाहीमा परेका हुन्। कारवाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी नायव उपरीक्षकसम्मका रहेका छन्। प्रदेश २ मा राम्रो कार्य गर्ने ३९ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

साउनमा ६६ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सो अवधिमा भन्सार छली निकासी पैठारीमा करीब २ करोड २२ लाख मूल्य बराबरको सामग्री जफत गरी २३ जनालाई पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्न कार्कीले जानकारी दिए।

उनका अनुसार प्रदेशका आठ जिल्लामा २७८.७२१ किलो गाँजा, २ सय ५० ग्राम अफिम र अन्य लागूऔषध २ हजार ६५९ एम्पुल बरामद भएको र लागूऔषधका मुद्दामा १०४ जनालाई पक्राउ गरी ६० ओटा मुद्दा दर्ता गरिएको छ।