You are here
Home > समाचार > प्रहरीद्धारा पाँच जना चिनियाँ ह्याकर सार्वजनिक

प्रहरीद्धारा पाँच जना चिनियाँ ह्याकर सार्वजनिक

१५ भाद्र २०७६, आईतवार १६:१३

काठमाडौं- दरबारमार्ग र ठमेलका तीन एटिएमबाट पिन नम्बर ह्याक गरेर रकम निकाल्ने पाँचजना चिनियाँ ह्याकरलाई प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर तीन पाँचजना चिनियाँ ह्याकरलाई उनीहरुले निकालेको रकमसहित सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा चिनियाँ ह्याकर लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन रहेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले ती चिनियाँहरुले दरबारमास्थित नबिल बैंकको एटिएम तथा ठमेलस्थित हिमालयन बैंक र प्रभु बैंकको एटिएम बुथबाट एक करोड २६ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको बताए। ‘हाम्रो अनुसन्धानमा अवैधरुपमा रकम निकाल्न तीनवटा एटिएम बुथ प्रयोग भएको छ’, उनले भने, ‘दरबारमार्गस्थित नबिल बैंक, ठमेलको हिमालयन बैंक र कमलपोखरीस्थित प्रभु बैंकको एटिएमबाट रकम झिकिएको भेटिएको छ।’

सुवेदीका अनुसार ह्याकरहरुले एक पटकमा २० हजार भन्दा धेरै रकम निकालेको भेटिएको छ।

दरवारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट पैसा निकालिरहेको अवस्थामा सबैभन्दा पहिले चिनियाँ नागरिक झु लियाङयाङ पक्राउ परेका थिए। राहदानी नम्बर ईसी १९३७५५८ भएका उनी पक्राउ परेपछि सोधपुछका क्रममा उनको साथबाट २० थान नक्कली भिषा कार्ड फेला परेको थियो।

प्रहरी टोली तत्काल हात्तीसारस्थित माया मनोहर बुटिकको कोठा न २०१ , ६०२ र ६०४ मा खानतलासी गर्न पुगेको थियो। त्यहाँ प्रहरीले होटलको लिफ्ट प्रयोग गरी भाग्दै गरेको अवस्थामा अन्य चार चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको थियो।