You are here
Home > समाचार > बेलायत सरकारविरुद्ध आमरण अनसन बस्ने गोर्खा सत्याग्रह संघर्ष समितिको चेतावनी

बेलायत सरकारविरुद्ध आमरण अनसन बस्ने गोर्खा सत्याग्रह संघर्ष समितिको चेतावनी

१७ भाद्र २०७६, मंगलवार १३:००

काठमाडौं- गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकार विरुद्ध आमरण अनसनमा बस्ने चेतावनी दिएको छ । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार बेलायत सरकारले पटक पटकको आग्रहलाई सुनुवाइ नगरेकाले संघर्ष समितिले आमरण अनसनमा उत्रिने चेतावनी दिएको हो । संघर्ष समितिसँगै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) समेत यहीँ विषयमा संघर्षमै छ ।

गोर्खा सत्याग्रह संघर्ष समितिले अक्टोबर २४सम्ममा माग पुरा नगरे बेलायत सरकार विरुद्ध आमरण अनसनमा बस्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समितिका अध्यक्ष ज्ञानराज राईले नेपाल सरकार र बेलायती सरकारले वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिएका छन् । उनले बेलायत सरकार विरुद्ध आफूहरुले दिएको चेतावनी बाध्यात्मक भएको बताए ।

पहिलो विश्वयुद्धदेखि बेलायतको पक्षमा गोर्खा फौजले काम गरेको थियो । बेलायतको राष्ट्रियता र स्वाधीनताका लागि नेपाली गोर्खाको भूमिका महत्वपूर्ण छ । तर बेलायती र गोर्खालाई दिने सेवा सुविधामा भने विभेद हुँदै आएको छ। एजेन्सी