You are here
Home > समाचार > मेलम्ची आयोजनामा स्थानीय र प्रहरीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

मेलम्ची आयोजनामा स्थानीय र प्रहरीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

१९ भाद्र २०७६, बिहीबार १८:०६

काठमाडौं-मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ ।

आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाइ फायर गरेको छ । झडपमा दुई प्रहरी र दुई पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए ।

झडपमा प्रहरीबाट छ राउण्ड अश्रु ग्याँस तथा दुई राउण्ड हवाइ फायर भएको छ भने पीडितले ढुङ्गामुढा प्रहार गरेका छन् । आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधनमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए ।

तोकेको घेरा नाघ्न खोजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । त्यसैक्रममा आन्दोलनकारीले एक्कासी ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको लामिछानेले बताए ।

आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरु अगाडि बढेपछि प्रहरीले रोकेको हो ।