You are here
Home > राजनीति > चीनका विदेशमन्त्री वाङ यी काठमाडौंमा

चीनका विदेशमन्त्री वाङ यी काठमाडौंमा

२२ भाद्र २०७६, आईतवार १९:०३

काठमाडौै -चीनका विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन्। नेपालको तीनदिने औपचारिक भ्रमणका लागि चीनका विदेशमन्त्री आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। चीनका विदेशमन्त्री वाङ यीलाई नेपालको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल आएका चीनका विदेशमन्त्री वाङ यी अहिले विमानस्थलबाट होटल द्वारिका जाने कार्यक्रम रहेको छ। सोमबार हुने नेपाल र चीनबीचको दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ताका लागि वाङ काठमाडौं आएका हुन्। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा भोलि वार्ता हुनेछ।

भोलि दुईपक्षीय वार्ता भएपछि दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ। नेपालमा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा दुई तिहाइको बलियो सरकार बनेपछि चीनको तर्फबाट भएको यो उच्च स्तरीय औपचारिक राजनीतिक भ्रमण हो।