You are here
Home > समाचार > ट्राफिक नियममा कडाई गरिन्छः एसएसपी ढकाल

ट्राफिक नियममा कडाई गरिन्छः एसएसपी ढकाल

२३ भाद्र २०७६, सोमबार १४:५०

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाका नवनियुक्त वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रमुख एसएसपी भीमप्रसाद ढकालले ट्राफिक नियममा कडाइ गरिने बताएका छन्। सोमवार महाशाखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसएसपी ढकालले कानूनी कायान्वयनमा कडाई गरिने बताएका हुन्।

उनले सरकारी गाडीका चालक तथा सिंहदरवारभित्रका चालकहरुलाई प्रशिक्षण दिने तयारी गरिरहेको समेत बताए। काठमाडौं उपत्यकामा देखिएको ट्राफिक जामको समस्या पहिलो प्राथमिकताको रुपमा रहेकाले तत्काल समस्या समाधान हुने उनको भनाई छ।

निकट भविष्यमा उपत्यकाका सम्पूर्ण ठाउँमा ट्राफिक बत्ती जडान गर्ने योजनामा छौं, उनले भने, ‘ट्राफिक बत्ती राख्ने सम्वन्धमा अर्थमन्त्रालयसँग प्रहरी महानिरीक्षकले समन्वय गरिसक्नुभएको छ।’ पत्रकार सम्मेलनमा एसएसपी ढकालले नेपालमा ३५ लाख ३९ हजार सवारी साधान दर्ता भएको र बागमती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४ सय २३ सवारी साधन दर्ता भईरहेको बताए। उपत्यकामा मात्रै १ हजार ८४ जना ट्राफिक प्रहरी दरबन्दी रहेको छ।