You are here
Home > समाचार > जर्नेल सम्मेलन सम्पन्न,मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे गम्भीर छलफल

जर्नेल सम्मेलन सम्पन्न,मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे गम्भीर छलफल

२३ भाद्र २०७६, सोमबार २२:२१

काठमाडौं -नेपाली सेनाको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित चार दिने जर्नेल सम्मेलन सोमबार सम्पन्‍न भएको छ। सेनापति पूर्णचन्द्र थापाले नेतृत्व समालेको वर्ष दिन पुगेको अवसर पारेर बोलाइएको सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राजनीतिको घरेलु वस्तुस्थिति र भूराजनीतिक परिवेशबारे गम्भीर छलफल भएको जनाइएको छ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत भएको थियो ।

सम्मेलनमा प्रधानसेनापति, उपत्यकासहित पाँचै क्षेत्रमा रहेका पृतना मुख्यालयका पृतनापति (उपरथी) हरू, पीएसओजमा रहेका रथी तथा विभागीय प्रमुख उपरथीहरू, सैनिक मुख्यालयस्थित विभिन्न निर्देशानालयको नेतृत्व गर्ने सहायकरथीहरू सहभागी थिए।

समापनको क्रममा प्रधानसेनापति महारथी श्री थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढिकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्न संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गरि आफ्नो दायित्व प्रति उत्तरदायी हुनुको साथै नागरिक-सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन गरिएका नीतिगत निर्णय र स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरि कार्य-योजना अनुसार जनहितको कार्यहरु सञ्‍चालन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन निर्देशन दिनुभएको थियो ।

जर्नेल बैठकमा युद्धकार्य महानिर्देशनालयले मुलुकको समग्र बस्तुस्थितिसहित राष्ट्रिय सुरक्षाको वर्तमान अवस्था, चुनौतीबारे विशेष प्रस्तुती गरेको थियो। त्यसैगरी हरेक प्रदेशमा रहेका पृतना मुख्यालयको नेतृत्व गर्ने उपरथीहरूले आआफ्नो कमान्डमा रहेको क्षेत्रको सुरक्षा अवस्थाबारे प्रस्तुत गरेका थिए।

फोटोः नेपाली सेना