You are here
Home > अर्थ/बजार > प्रधानसेनापतिको सम्पति सार्वजनिक, ५५ तोला सुन

प्रधानसेनापतिको सम्पति सार्वजनिक, ५५ तोला सुन

२४ भाद्र २०७६, मंगलवार १९:५२

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।


आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् ।
त्यस अवसरमा उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए।

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ।त्यसैगरी दुई वटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतिको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ। कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणा पनि गरेका छन्।

प्रधानसेनापति त्रैमासिक रोलकलको चौथो संस्करण समेत मंगलवार सम्पन्न भएको छ। गत वर्षबाट सञ्चालन हुँदै आएको रोलकलको चौथो संस्करण एक कार्यक्रमकाबीच सम्पन्न भएको हो।

जंगी अड्डास्थित सभामण्डपमा आयोजित उक्त रोलकलमा विभिन्न युनिटमा तैनाथ सकलदर्जाले आफ्ना रायसुझाव तथा जिज्ञासाहरु प्रस्तुत गरेका थिए भने प्रधानसेनापतिको उपस्थितीमा विभागीय प्रमुख तथा कार्यालय प्रमुखहरुले जवाफ दिएका थियो । सोही कार्यक्रममा दोस्रो खण्डमा पदबहालीको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले सकलदर्जालाई सम्बोधन गरेका थिए।

नेपाली सेनाका सबै युनिटमा लाइभ मल्टिकाष्ट गरिएको उक्त सम्बोधनका दौरान प्रधानसेनापति थापाले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समिक्षा गरेका थिए। यसैगरि, सम्बोधनका क्रममा उनले नेपाली सेनाको सांगठनिक संरचना सुधारका लागि विविध आधारहरु खडा गरिएको तथा आगामी वर्ष कार्यान्वयनका लागि निर्धारण गरिएका योजनाहरुका बारेमा चर्चा गरेका थिए।

उनले नेपाली सेनालाई प्राप्त प्रमुख र द्धितीयक भूमिकाहरु, संगठन सुधार तथा स्तरोन्नती, कल्याणकारी योजनाहरु, शान्ति सेना सहभागिता, नागरिक–सैनिक सम्बन्ध लगायतका विषयहरुमा आफ्नो भिजन तथा कार्यादेश प्रष्ट पारेका थिए।

हेर्नुस् प्रधानसेनापतिको सम्पति विवरण :-