You are here
Home > समाचार > ३२ वर्षे युवा ८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न लागेपछि…

३२ वर्षे युवा ८१ वर्षे वृद्धको भेषमा अमेरिका उड्न लागेपछि…

२६ भाद्र २०७६, बिहीबार ०९:४९

नयाँ दिल्ली- एकासी वर्षीय वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवा विमानस्थलबाट पक्राउ परेका छन्। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्यूयोर्क जान लागेका ३२ वर्षीय जयेश पटेललाई भारतीय प्रहरीले पक्राउ गरेको हो । उनलाई विमान चढ्न लागेको बेला नक्कली राहदानीसहित गत आइतबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

  फुलेको दाह्री र मोटो चस्मा लगाएका ती युवाले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेका थिए। उनले सबै अधिकारीहरूलाई झुक्याउन भने सकेनन्।  सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको भारतीय अधिकारीले जनाएका छन्।  यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लिखित उमेरसँग मेल खाएजस्तो नदेखिएको उनीमाथि जाँच गरिएको थियो। 

जाँचका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए। उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  एजेन्सी