You are here
Home > प्रशासन > एक लाख रकमसहित न्यायाधीशका सवारी चालक अख्तियारको फन्दामा

एक लाख रकमसहित न्यायाधीशका सवारी चालक अख्तियारको फन्दामा

२६ भाद्र २०७६, बिहीबार १७:०५

सिरहा सिरहास्थित सिरहा जिल्ला अदालतमा न्यायाधीशको सवारी चालकलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट आएको टोलीले न्यायाधीश नरनारायण पौडेलका सवारी चालक बृजमोहन यादवलाई बिहीबार दिउँसो १ बजेतिर पक्राउ गरिएको हो। सिरहास्थित खड्ग होटल एण्ड लजमा मुद्दाका पक्षसँग लिएको एक लाख १० हजार रुपैयाँ रकमसहित पक्राउ गरिएका यादवलाई बर्दिवासस्थित अख्तियारको कार्यालय लगिएको छ।

सिरहा जिल्ला अदालतका ३ नं. इजलाशका न्यायाधीश पौडेलका सवारी चालक यादवलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान गरिने सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद घिमिरेले जानकारी दिए। अख्तियारको नियन्त्रणमा परेका यादव सिरहाको विष्णुपुर गाउँपालिका लक्ष्मीपुरका बासिन्दा रहेको जनाइएको छ।