You are here
Home > समाचार > रौतहटको कुडियाबजार क्षेत्रमा दुई पक्षबीच झडप, प्रहरीलाई नियन्त्रण गर्न हम्मे

रौतहटको कुडियाबजार क्षेत्रमा दुई पक्षबीच झडप, प्रहरीलाई नियन्त्रण गर्न हम्मे

२६ भाद्र २०७६, बिहीबार १७:१६

काठमाडौं – रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाईफायर गरेको छ। स्थानीयबीचको झडप नियन्त्रणबाहिर गएपछि प्रहरीले बाध्य भएर हवाइफायर गरेको हो।

रौतहट प्रहरीले दिएको जानकारी अनुसार दिउँसो १ बजेर ३० मिनेटमा नियन्त्रण लिनका लागि अश्रुग्यास प्रहार गरेको हो।

कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर विवाद सुरु भएको भनिएको थियो। सामान्य रुपमा उत्पन्न विवादले अचानक उग्ररुप लिएको हो । झडपका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा हानिएको छ ।

झडपका कारण कुडियाबजार क्षेत्रमा अहिले तनाव कम हुनुको सट्टा झन बढ्दै गएको छ । डीएसपी नवीन कार्कीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भए पनि भिडलाई नियन्त्रणमा लिन गाह्रो भएको छ । कुडियाबजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसिरहेको छ ।

हिजो साँझ छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद समाधान गर्नका लागि स्थानीय प्रहरी प्रशासनले आज मुस्लिम अगुवासँग छलफल गरेर पोखरी किनारमा राखेको झण्डा हटाएको थियो । सोही झण्डा हटाएको विरोधमा आज दिउँसो प्रदर्शन भएर झडको रुप लिएको हो ।