You are here
Home > समाचार > नेपाली सेनाभित्र ‘सलाम’ नगर्ने र नफर्काउने दुवैथरीलाई कार्वाही

नेपाली सेनाभित्र ‘सलाम’ नगर्ने र नफर्काउने दुवैथरीलाई कार्वाही

२७ भाद्र २०७६, शुक्रबार १६:५४

काठमाडौं – नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरीलाई कार्वाहीको दायरामा ल्याइएको छ ।

नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि त्यस्ता व्यक्तिलाई कार्वाहीको दायरामा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो एक वर्षको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित तेस्रो रोलकलमा पछिल्लो समय केही सैनिक व्यक्तिले सलामको हकदारलाई सलाम नगर्ने, बरु देखे–नदेखेझै गर्ने प्रवृृत्ति बढेकामा त्यस्ता सैनिकलाई केही कारवाही हुन्न भनी जिज्ञासा राखेका थिए।

प्रधानसेनापतिसहित सकलदर्जा उपस्थित रहेको उक्त कार्यक्रममा जमदार प्रेमबहादुर बस्नेतले भने, ‘आफ्नो युनिटभन्दा बाहेककालाई सलाम नगर्ने, देखे–नदेखेझैं गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्नका लागि यस्तो कदम चालिएको हो।’

जवाफमा सङ्गठन विभागका प्रमुख सुवर्ण शाहले भने, ‘कुनै पनि सैनिक व्यक्तिले आफूभन्दा ज्येष्ठ सलामीको हकदारलाई सलामी गर्नु उसको कर्तव्य हो,।’

प्रधानसेनापति थापाको कार्यकाल प्रारम्भपछि त्रैमासिक चौथो रोलकलसम्म आइपुग्दा सलाम नगर्ने, देखे–नदेखेझै गर्ने र नफर्काउने २० भन्दा बढी घटनासँगसम्बद्ध व्यक्तिलाई कार्वाहीको भागेदार बनाई दण्ड सजाय गरिएको सो अवसरमा जानकारी दिइयो ।

सैनिक सङ्गठन निर्देशनालयका अनुसार, एक वर्षको अवधिमा सैनिक ऐन विपरीत कार्य गर्ने एक हजार ११७ लाई कार्वाही गरिएको छ ।