You are here
Home > राजनीति > काँग्रेसद्धारा कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा माइतीघरमा धर्ना

काँग्रेसद्धारा कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा माइतीघरमा धर्ना

२८ भाद्र २०७६, शनिबार १८:२९

काठमाडौँ-नेपाली काँग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि भएको आक्रमणको विरोधमा शनिवार काठमाडौँको माइतीघरमा धर्ना दिएको छ । 

उक्त घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गइनुपर्ने भन्दै काँग्रेसका नेता, सांसद र भातृसंगठनले माइतीघरमा धर्ना दिएका हुन् । उक्त आक्रमणको घटनालाई प्रवृत्तिको रूपमा चित्रण गर्दै काँग्रेसले त्यस विरुद्ध आन्दोलन सुरु गरेको हो । मुलुकमा सबै नागरिकको सुरक्षा हुनुपर्ने भन्दै धर्नामा सहभागीहरूले सरकारको विरुद्धमा नाराबाजी गरेका थिए । उनीहरूले तत्काल दोषीलाई नियन्त्रणमा लिई कडा कारबाही गर्नुपर्ने माग अघि सारेका छन् ।

काङ्ग्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै दोषीलाई कारबाही नभए थप दबाबका कार्यक्रम आयोजना काँग्रेस नेताहरूले जनाएका छन् । धर्नामा काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले काँग्रेसको कार्यक्रममाथि सत्तारुढ दलले नै दमनको नीति लिएको भन्दै विरोध स्वरूप आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।