You are here
Home > समाचार > रेडियो नेपालको मूल गेटमा ताला, ९ पत्रकार गिरफ्तार

रेडियो नेपालको मूल गेटमा ताला, ९ पत्रकार गिरफ्तार

३० भाद्र २०७६, सोमबार १५:३६

काठमाडौं -रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निस्कासित पत्रकारको पुनरवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्न पुगेका नौं पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । रेडियो नेपालको मूल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई गिरप्तार गरेको हो । 

गिरफ्तार हुने पत्रकारहरूमा महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी,  यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुवर छन् । 

लामो समयदेखि कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुवरको पुनर्वहालीको माग गर्दै आन्दोलनरत संचारकर्मीले तालाबन्दी गरेका हुन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा रेडियो नेपालको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको हो । 

महासंघका कार्यवहाक अध्यक्ष बिपुल पोखरेल नेतृत्वको  समूहले पुनर्वहालीको लागि पटक-पटक माग गर्दासमेत रेडियो व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि तालाबन्दी गरेको हो ।